नेपाल-भारत सिमानाको दशगजा क्षेत्रमा भारतले वर्षौदेखि नेपालतर्फ फोहोर फाल्दै आएको छ ।
मोरङको विराटनगर महानगरपालिका-१६ र भारतको अररिया जिल्लाको जोगवनी नगर सिमानामा रहेको दशगजा क्षेत्रमा भारतले वर्षौदेखि नेपालतर्फ फोहोर फाल्दै आएको हो ।
दैनिक फालिने सयौँ टन फोहोरले नेपालतर्फको बस्ती प्रभावित भएको छ । फोहोरले गर्मीमा हैजा फैलने समस्या हुने गरेको छ ।
सिमा क्षेत्रमा भारतले दशगजा मिचेर आफनोतर्फ सडकको बहानामा अग्लो बाँध बनाएको छ । त्यही बाँध मुन्तिर दशगजा क्षेत्रमा ठेला, रिक्सा र ट्याक्टरमा फोहोर फालिदिन्छन् । मरेका सिनोसमेत त्यही क्षेत्रमा फाल्ने हुनाले दुर्गन्ध सहन नसकेर नेपालीहरुले नै पैसा तिरेर सिनो अन्यत्रै फयाँक्ने लगाउने गरेका छन् ।
विराटनगर–१६ जुटमिल दक्षिण गेटमा बसोवास गर्दै आएका मोहम्मद मुक्तार हुसैनले भने, ‘हामीले पटक–पटक दशगजा क्षेत्रमा यसरी फोहोर नफाल्न भारतको जोगबनी नगरपञ्चायतलाई आग्रह ग¥यौ, तर उनीहरुले हामीलाई हेपेर वास्तै गरेका छैनन ।’ ।
उनका अनुसार सुरक्षाकर्मीहरुले पनि दशगजामा फोहोर नफाल्न पटक–पटक आग्रह गरेको छ । तर, उनीहरुले निरन्तर फोहोर फालिरहेका छन् ।
फोहोर फयाँक्ने दशगजा क्षेत्रमा नेपालतर्फ विराटनगर जुटमिल एरियामा बसोवास गर्ने बाक्लो बस्ती छ । तर, भारतको जोगबनीतर्फ भने नजिकै बस्ती छैन । यसैले भारतीयहरुले ‘मरेपनि नेपालीहरु मरुन’ भनेर हदैसम्म हेपेर फोहोर फालिरहेको स्थानीय बताउँछन ।
स्थानीयका अनुसार हाल लकडाउनले गर्दा भारतीय बजारमा चहलपहल कम भएकोले फोहोर कम भएको छ । तर, नाका खुल्ला भएपछि फोहोरको रास पहाडजस्तै बन्छ।
मोरङका सिडिओ कोषहरि निरौलाले दशगजा क्षेत्रमा फोहोर फयाँक्ने गरेको आफुलाई जानकारी नभएको बताए । अब जानकारीमा आएकोले भारतीय प्रशासनसँग समन्वय गर्ने जानकारी दिए ।
उनले भने, ‘दशगजामा नेपाल–भारत कसैले पनि फोहोर फयाँक्ने मात्र हैन कुनै गतिविधि गर्न र संरचना बनाउन पाइँदैन । यसबारे हामी उताको प्रशासनलाई ध्यानआर्कषण गराउछौँ । ’