बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिले नै गाँजाखेतीलाई प्रोत्साहन दिइरहेको आरोप लगाएका छन् ।
गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठिरहेको सन्दर्भमा मुख्यमन्त्री पौडेलले सरकारले अवैध ठहर गरेको गाँजा उत्पादनलाई जनप्रतिनिधिले नै प्रोत्साहन गर्नु गलत भएको बताए ।
गाँजा उत्पादन हुने क्षेत्रमै पुगेर जनप्रतिनिधिले विपन्न किसानलाई प्रोत्साहन गरिरहेको उनले आरोप लगाए । ‘कानुनले बन्देज लगाएको गाँजाखेती गर्न प्रोत्साहन गर्नुको सट्टा कानुन परिवर्तनमा जोड दिनुपर्छ,’ उनले भने ‘कानुन परिवर्तन गरेर वैधानिकता दिन सके गरिब किसान जेल जानबाट जोगिनेछन्/मुख्यमन्त्री पौडेलले संघीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताए । विकासको पूर्वाधार भनेको डोजरले सडक बनाउनु मात्र नभएको जनप्रतिनिधिलाई बुझ्न उनले आग्रह गरे ।
जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्नुपर्ने उनको धारणा छ । मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिए । उनले झोलुंगे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरिरहेको बताए ।
कार्यक्रममा कोरोना–१९ जोखिम न्यूनीकरणका लागि योगदान पुऱ्याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईं, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठ, स्थानीय समाजसेवी नारायण थिङ, उद्यमी ऋषिराम घिमिरे, यातायात व्यवसायी बद्रीप्रसाद चौलागाईं र सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईंलगायत संघसंस्थाहरूलाई सम्मान गरिएको छ ।