पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीभित्र अल्पमतमा परेपछि किरातीले राजीनामा दिएका हुन्।
उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ।
पार्टीमा अल्पमत बहुमत भन्दा पनि स्वास्थ्यका कारण किरातीले अध्यक्षको जिम्मेवारी छोडेको महासचिव कर्णजित बुढाले बताए।
‘अध्यक्ष ज्यूले मेरो स्वास्थ्य स्थिति ठीक भएन। थप अध्ययन पनि गर्नुपर्ने भन्नुभयो’बुढाले भने, ‘स्वेच्छाले अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तिलक थापा कमरेडलाई छोड्दिनुभयो ।’
मंसिर पहिलो साता पार्टीको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्ने बुढाले बताए । एमाले–माओवादी एकता भएपछि किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । किरातीले झण्डै तीन वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।