प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन दाहालले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।
दाहालको ब्रिफिङ सुनेपछि जवाफमा नेताहरुले अहिले कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने र बैठक राख्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । ती नेताका अनुसार जो कोहीले पार्टी निर्णय मान्नपर्ने, पार्टीलाई नीति र विचारका आधारमा तथा विधि र पद्धतिका आधारमा चलाउनुपर्छ भन्ने खुमलटार छलफलको निष्कर्ष थियो ।
यसबाहेक सरकारलाई जनताप्रति उत्तरदायी बनाएर काम केन्द्रित गर्ने, पार्टी महाधिवेशन गर्ने र चुनावी तयारीमा लाग्नु नै अहिलेको विकल्प भएको नेताहरुको भनाई थियो । खुमलटार छलफलमा सहभागी नेताहरुले दाहाललाई ओलीसँग पुन: संवाद गर्न र एक्लै भेट नभए सामूहिकरुपमा छलफल गर्न सुझाव दिएका छन् ।
केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गरेका हुन् ।
पछिल्लो पटक कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच तित्तता बढाएको छ । त्यसैकारण ओली र दाहालबीच संवादसमेत रोकिएको थियो । उनीहरुबीच ११ दिनपछि शनिवार भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । यही भेटमा प्रधानमन्त्री ओलीले अलगअलग जाने विकल्प अगाडि सारेपछि नेकपाको राजनीति फेरि एकपटक तनावपूर्ण बनेको छ ।