पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उहाँकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौँ ल्याइएको थियो । दशैँमा पुख्र्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उहाँमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षको हुनुहुन्थ्यो । उहाँको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
महराकी पत्नी सीताको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ। शब व्यवस्थापन गर्ने क्रममा पूर्वसभामुख महरा र परिवारका सदस्यसहित विभिन्न नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएका थिए । कोरोना संक्रमणको सुरूवातदेखि नै मृत्यु हुनेहरूको शवलाई सेनाले व्यवस्थापन गर्दै आएको छ। केही समय अघि सरकारले मृतकका आफन्तले चाहेमा शव व्यवस्थापन गर्न पाउने निर्णय गरेको थियो।
नेपाली सेनाका अनुसार सरकारको निर्णयपछि पनि सेनाले नै शवको व्यवस्थापन गरेको छ। ‘आफन्तले शवको व्वयस्थापन गर्न चाहेमा उहाँहरूले नै गर्न सक्नुहुन्छ। अन्य अवस्थामा सेनाले नै व्यवस्थापन गर्छ,’ सैनिक प्रवक्त सन्तोषवल्लभ पौडेलले भन्नुभयो, ‘अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको शव सेनाले नै व्यवस्थापन गरेको छ।