नेपाली राजनीतिक इतिहासमा बेलाबेला चर्चा भइरहने घटना हो, नख्खु जेल ब्रेक । ४४ वर्षअघि नख्खु जेल तोडेर भाग्नेमध्येका एक कम्युनिस्ट नेता वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित ७० वर्षीय लामाको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी नियमित डायलसिस गराइरहेका थिए ।
अरू साथीहरू जेलको ढोकामा रहेका सेन्ट्रीको आँखामा खुर्सानीको धूलो र बालुवा हालेर बन्दुक खोसेर भाग्नुपर्छ भन्ने योजनामा थिए । पछि महासचिव मैनालीको निर्देशनअनुसार लामाजी र मैले सुरुङ खन्ने काम थाल्यौं, अरू साथीहरूले पनि साथ दिनुभयो ।’ पौडेलका अनुसार लामा रातभर सुरुङ खन्ने काममा खटिन्थे, दिनभर सुत्थे । एक महिनामा ६५ हात लामो सुरुङ खनेपछि त्यहींबाट उनीहरू भागेका थिए । ‘जेलमात्र तोडिएन नेताहरूलाई महिनौं दिन आफ्नो गाउँमा सुरक्षित साथ राख्न उहाँ (लामा) सफल हुनुभयो,’ पौडेलले भने ।
आफ्नो विचार हक्कीसाथ राख्ने लामालाई २०३२ वैशाख १९ मा अन्तर्राष्ट्रिय मई दिवसका दिन प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । झापा संघर्षको समर्थन गर्दै राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा पर्चा छर्ने क्रममा उनी समातिएका थिए । उक्त पर्चा काठमाडौंस्थित कोरियाली दूतावासमा तयार गरिएको थियो ।
पक्राउ पर्नुअघि लामा दूतावासमा जागिरे थिए । प्रदिप नेपाल, राजेन्द्र पाण्डे, माधव पौडेल, गोपाल शाक्यलगायत मिलेर मुस्लो नामको संगठन खोलेका थिए । त्यही संगठनका नाममा काठमाडौंमा पर्चा छरिएको थियो । पर्चा छरेकै कारण अदालतले लामालाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । कैद भुक्तानी गर्ने क्रममा नै भद्रगोल जेल हुँदै पौडेल, नेपालसहित लामालाई पनि नख्खु जेल पुर्याइयो । त्यहीं मैनालीलगायत अरू नेतासँग लामाको भेट भएको थियो ।
नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने लामालाई श्रमजीवी वर्गबाट आएका इमानदार कम्युनिस्ट भन्न रुचाउँछन् । उनले भने, ‘उहाँकै अगुवाइमा २०३७ सालमा फाखेलमा बसेको मालेको केन्द्रीय समिति बैठकले क्रान्तिको नयाँ कार्यदिशा पारित गरेको थियो ।’
२०५६ को प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट लामा निर्वाचित भए । जिविस सभापति र सांसद हुँदा पनि उनको आर्थिक रूपले जीवनस्तरमा कुनै फेरबदल आएन । आर्थिक अभावकै कारण उपचार गर्नसमेत समस्या भयो । परिवारले उपचारमा सहयोग गरिदिन सरकारसँग आग्रह गरेका थिए । सहयोग पाएनन् । ‘सरकारसँग अनुरोध गरेका हौं तर सुनुवाइ भएन,’ छोरी श्रमिक लामाले भनिन् ।
२०६८ मा नेकपा एमाले छाडेर संघीय समाजवादीमा लागेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन् । उनको शव काठमाडौंको स्वयम्भूस्थित एक गुम्बामा राखिएको छ । रोजगारीका लागि खाडी मुलुक गएका कान्छा छोरा आएपछि बुधबार मात्रै उनको अन्त्येष्टि गरिने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । इन्द्रसरोवर–४ फाखेल निवासी लामाका श्रीमती, तीन छोरी र दुई छोरा छन् ।