सिराहाको लहान नगरपालिका-३ भगवानपुर गाउँनजिकै बुधबार दिउँसो मास्क लगाएका अपरिचित दुईजना व्यक्तिले पेस्तोल देखाएर चार लाख रुपैयाँ लुटेका छन् ।
लहान २३ गाढा गाउँका करिब ५४ वर्षीय जागेश्वर यादवले लहानस्थित जनउत्थान सहकारी संस्थाबाट चार लाख रुपैयाँ निकालेर साइकलमा घर फर्किंदै गर्दा दिउँसो करिब साढे १२ बजेतिर लहान ३ स्थित एनसेलको टावर नजिकै लहान ठाढी सडकमा लुटपाट भएको हो ।
घरायसी ऋण तिर्न सहकारीबाट चेकमार्फत रकम झिकेर लहान अस्पताल चोक हुँदै करिब पाँच सय मिटर दक्षिण पुगेपछि कल्भर्टमा बसिरहेका दुई जनाले चार लाख रुपैयाँ लुटेर उत्तरतिर भागेको पीडित यादवले बताए ।
‘साइकलमा जाने क्रममा मोटरसाइकल रोकेर कल्भर्टमा गफिँदै गरेका दुईजना मतिर आएर रोके’ उनले भने ‘एकजनाले पेस्तोल निकाल्यो र अर्कोले कोटको तीनवटा भित्री खल्तीमा राखेको रकम खोसेपछि मलाई सडक मुन्तिर लडाएर मोटरसाइकल चढेर उत्तरतिर भागे ।’
इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवाष खतिवडाले रकम लुटिएको थाहा पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको बताए ।
पीडितको प्रारम्भिक वयान बमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै प्रहरी निरीक्षक खतिवडाले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए ।
उनका अनुसार पीडित यादवले सहकारीबाट एक हजार दरका तीन लाख र पाँच सय दरका एक लाख गरी चार लाख रुपैयाँ झिकेका थिए ।