थुक सुक्यो बोल्नेको
कान दुख्यो सुन्नेको
मसि मेट्यो लेख्नेको
’ नयाँ नेपाल ’
शब्द फेर्यो , नेता फेर्यो
तर फेरिएन नेपाली जनताको मन
रापिलो घाममा,
पसिना बगाउनेको मोल छैन
लाखौं चेलीहरु
कालो कोठरीमा पुग्दा पनि
कसैको एक बोल छैन ।
गरीबीका रेखामुनि पिल्सिएका
गरीब जनता झन्झन् थिचिएका छन्
शोषणबाट शोषित भएका छन्
सबैबाट हेपिएका छन्
चेपिएका छन्
यी जनताहरु,
बाठो हुँदाहुँदै लाटा बनेका छन्
पाउ हुँदाहुँदै लंगडा भएका छन्
आँखा हुँदाहुँदै अन्धा भएका छन्
जिब्रो हुँदाहुँदै स्वादहिन भएका छन्
किनकी ,
यी जनताहरु अशिक्षित छन्
भोकमरीमा छन्
शोषित छन्
’ नयाँ नेपाल ’
शब्द फेर्यो नेता फेर्यो
तर फेरिएन नेपाली जनताको मन
नयाँ नेपाल भने पनि
पुरानै व्यवहारले
नेपाली जनता माथि उठ्न सक्ने हैन
त्यसैले ,
नयाँ नेपालप्रति गर्व छैन
सक्छौ भने अझै समय बाँकी छ
गरेर देखाउ
तिम्रो दुई तिहाइको दम्भभित्र
सारा नेपालीको सपना अटोस्
हैन भने अन्तिम निर्णय
जनताले गर्नेछ ।।
प्रविता वाइबा तामाङ
चौरी देउराली गापा मादन- ७, काभ्रे
हाल – स्वयम्भू , काठमाडौ