नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू ढुक्क रहेको बताएका छन् । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापनासँगै आफ्नो समूहले पार्टीको नाम र चुनाव चिह्न प्राप्त गर्नेमा पनि ढुक्क रहेको बताए ।
‘संविधानअनुसार प्रतिनिधिसभा सुचारु हुने कुरामा हामी शतप्रतिशत विश्वस्त छौँ, राजनीतिक दलसम्बन्धी कानुनका आधारमा सूर्य चुनाव चिह्न र पार्टीको नामको आधिकारिता हामीमै रहने कुरामा द्विविधा छैन,’ श्रेष्ठले भने, ‘यो कसले के पाउनेभन्दा पनि संविधान र कानुनअनुसार पार्टीले आधिकारिकता पाउने विषयसँग जोडिएको कुरा हो ।’
श्रेष्ठले अस्थिरता अन्त्य र मुलुकको विकासका लागि संविधान बनाउने क्रममै तत्कालीन प्रधानमन्त्री, संविधानसभा अध्यक्ष, संवैधानिक मस्यौदा समिति, संविधानसभाका सदस्य, नागरिक समाजका अगुवा, बुद्धिजीवी, संविधान र कानुनविद् सबै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिने कुरामा सहमत भएर संविधान लेखिएको दाबी गर्दै संसद्ले सरकारै बनाउन नसक्ने अवस्थामा मात्रै स्वतः विघटन भएर निकासका लागि चुनावमा जाने व्यवस्था गरिएको प्रस्ट्याए ।