सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै जिल्लास्थित निर्वाचन कार्यालयले निर्वाचनसँग सम्बन्धित गतिविधि अघि बढाएका छन् । सरकारले तोकेअनुसार आगामी १७ र २७ वैशाखमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित जिल्ला निर्वाचन कार्यालयले कार्यक्रम अघि बढाएका हुन् । संसद् विघटन गर्ने सरकारको घोषणा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ चलिरहे पनि केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार जिल्लाहरूले गतिविधि बढाएका हुन् । यसक्रममा रामेछाप, लमजुङ र खोटाङका निर्वाचन कार्यालयले राजनीतिक दलहरूसँग छलफलदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम अघि बढाएका छन् ।
मतदाता नामावली अद्यावधिक गरिँदै
जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावलीमा दोहोरोपन र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गरेको छ । कार्यालयले यसअघि नै फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गरे पनि मध्यावधि निर्वाचनको मिति नै घोषणा भएकाले दोहोरोपन र त्रुटि भएका नामावली अद्यावधिक गर्ने काम थालेको हो ।
निर्वाचन कार्यक्रम अघि बढाउने क्रममा आयोगको जिल्ला कार्यालयले बुधबार अन्तरक्रिया गर्यो । कार्यक्रममा निर्वाचन कार्यालयले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी सुरु गरिसकेको जानकारी दिइएको थियो । सरकारले निर्वाचन तालिका सार्वजनिक गरेसँगै जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनको तयारी सुरुवात गरेको हो । निर्वाचन कार्यालयले पहिलो चरणमा रामेछापका मतदाता नामावलीमा नाम दर्ता गर्दा विभिन्न त्रुटि भएका मतदातालाई आफ्नो नामावली सुधार्न समयसीमा दिएको छ ।
कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानीय तहको केन्द्रलाई आधार मानी सञ्चालन गर्न लागेको हो । स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म र जिल्ला निर्वाचन कार्यालयमा १५ देखि २६ माघसम्म मात्रै मतदाता नामावली अद्यावधिक गर्न मिल्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत शम्भु कटुवालले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्कालगायत सहभागी थिए । अन्य सहभागीले १८ वर्ष पूरा गरेका नागरिकले पनि मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
यसअघि भएका निर्वाचनमा जिल्लाका धेरै मतदानस्थल अपायक स्थानमा भएकाले अब हुने निर्वाचनमा सबै मतदातालाई सहज र सरल हुने स्थानमा मतदान केन्द्र हुनुपर्ने कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले बताए । उनले भने, ‘मतदान केन्द्र अपायक स्थानमा हुँदा धेरै मतदाताले मतदानमा भाग लिन सकेनन् । अब पहिलाको जस्तो मतदान केन्द्र टाढा राख्नुभएन ।’
मतदानस्थल थपिने
यसअघिको निर्वाचनमा रामेछापका ९० वटा मतदानस्थल र एक सय ९० वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा रामेछापका ९० मतदानस्थल र दुई सय तीन मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । विगत वर्षमा भएको निर्वाचनका क्रममा राखिएको मतदानस्थल थपघट गर्ने र पायक–अपायकको विषयमा जानकारी गराउन जिल्लाका सबै राजनीतिक दललाई परिपत्र गरिएकाले समयमा नै निर्वाचन कार्यालयलाई सुझाब दिन जिल्ला निर्वाचन कार्यालय रामेछापका नायब सुब्बा गणेश थापाले जानकारी दिए ।
कार्यक्रमका संयोजक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले निर्वाचनको मिति तय भएसँगै निर्वाचनसम्बन्धी गतिविधि जिल्लामा सुरुवात भइसकेकाले त्यहीअनुसार सुरक्षा व्यवस्था पनि मिलाइएको जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख र जिल्लास्थित सञ्चारकर्मीको समेत उपस्थिति थियो ।
दलका प्रतिनिधिसँग छलफल
जिल्ला निर्वाचन कार्यालय खोटाङले जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेको छ । छलफलमा निर्वाचनको तयारीका विषयमा भइरहेका गतिविधिबारे जानकारी गराइएको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी दिइन् ।
त्यसक्रममा ५ पुससम्म १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको नामावलीमा भएको त्रुटि तथा दोहोरो नाम सच्याउने, दाबी विरोध भए त्यसको निरूपण गर्ने समय तय गरिएको जानकारी दिइएको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको बताए ।
कार्यक्रममा सहभागी राजनीतिक दलका पदाधिकारीले भने तोकिएको मितिमा निर्वाचन नहुने धारणा राखेका थिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै एक समूह निर्वाचन गराउने र अर्को समूह विरोधमा रहेकाले सरकारले तोकेको मितिमा निर्वाचन सम्भव नरहेको सहभागीहरूको भनाइ थियो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख सहभागी थिए । १० स्थानीय तह रहेको खोटाङमा एक लाख ३३ हजार मतदाता छन् ।
लमजुङमा ८ मतदान केन्द्र थपिँदै
चुनाव घोषणा भएसँगै लमजुङमा मतदान केन्द्र र मतदानस्थलको पुनरावलोकन तथा मतदाता नामवली अद्यावधिक गर्ने कामको थालनी भएको छ । साबिकका एक सय २३ मतदानस्थल र एक सय ६५ मतदान केन्द्र रहेकोमा आठवटा मतदान केन्द्र थपिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
आउँदो १७ र २७ वैशाखमा सरकारले घोषणा गरेको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन प्रयोजनका लागि मतदानस्थल र केन्द्रबारे जिल्लामा सर्वपक्षीय छलफल भएको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी जिवाखर शर्माका अनुसार ०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा लमजुङमा एक सय २३ मतदानस्थल र एक सय ६५ वटा मतदान केन्द्र रहेका थिए । मतदाता संख्याका आधारमा आठवटा मतदान केन्द्र थप भई एक सय ७३ पुगेको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा जिल्लामा मतदाताको संख्या एक लाख १५ हजार चार सय ४९ रहेकोमा हाल बढेर एक लाख २४ हजार दुई सय ६१ पुगेको र उक्त संख्यालाई अद्यावधिक गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । मतदाता नामावली प्रकाशन गर्ने, नामावलीमा भएको त्रुटि सच्याउने, नामावलीबाट नाम हटाउनेलगायतका लागि १५ देखि २० माघसम्मको कार्यक्रम तालिकासमेत निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।