प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको विरोधहरू गर्नेहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देशविरोधी, जनविरोधी र देशद्रोही भएको गम्भीर आरोप लगाएका छन् । राजनीतिक दल, पूर्वप्रधानन्यायाधीश, संविधानविद् र नागरिक समाजले दुई वर्ष कार्यकाल बाँकी रहँदै र सरकार गठनका अन्य विकल्प कायम रहँदै भएको संसद् विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक भएको बताएकै वेला उनीहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएका हुन् ।
‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराउने मान्छेहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देशविरोधी, जनविरोधी मान्छेहरू हुन्,’ अपांगता भएका व्यक्तिहरूको साक्षात्कार कार्यक्रममा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले भने ।
संसद् विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह, कांग्रेस र जसपालगायतका राजनीतिक दलले संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । चार पूर्वप्रधानन्यायाधीश र नागरिक समाजले पनि प्रधानमन्त्रीको कदम संविधानसम्मत नभएको बताएका छन् । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सिंगो देश धु्रवीकरण भएकै वेला ओलीले आफ्नो पक्षमा नरहेकाप्रति राजनीतिक प्रहार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्था संसद् पनि अरूको इसारामा चलेको भन्दै सांसदहरूप्रति रोष प्रकट गरे । उनले सांसदहरूले अरूको इसारामा काम गर्न थालेको र मुलुकमा अस्थिरता मच्चाउन खोजेकाले संसद् विघटन गरेकोसमेत बताए ।
‘देशमा अस्तव्यस्तता खडा गर्ने, स्थिरता हुन नदिने, स्थायित्व हुन नदिने र बहुमतको सरकार तोडेर अनि जोडजाम सरकार बनाएर स्थिरताका नाटक गर्ने, संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ चुनिएर आएपछि भन्ने,’ ओलीले भने, ‘सांसद भनेपछि जागिर हो ? सांसद भनेको जागिर होइन ।
उनीहरूको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ, यो स्थायी जागिर हो ? जनता र देशको सेवा गर्नुपर्ने ठाउँमा देशको सेवा नगरेर अरूद्वारा निर्देशित, अरूको इसारामा काम गर्ने भएपछि स्थिरतालाई भत्काएर अस्थिरतातर्फ धकेल्न खोजेपछि स्थिरताका लागि जनतामा ताजा जनादेशका लागि जानु र ताजा संसद्, कुनकुन सांसदहरूले के–कस्ता काम गरेका छन्, जनताले मूल्यांकन गर्नुपर्यो र त्यसअनुसार पुरस्कृत गर्ने कि दण्डित गर्ने जनताले फैसला गर्नुप¥यो ।’
ओलीले संसद् विघटनको विरोध गर्ने देशद्रोहीलाई चुनावमा जनताले ठेगाउन लगाउने भन्दै आफूमाथि तानाशाहीको आरोप लगाइएको भन्दै खण्डन गरे । ‘मैले आफ्नो हातमा केही लिएको छैन । मैले आफ्नो हातमा लिएको भए तानाशाही हुन्थेँ ।
जनताको बीचमा जनताको फैसला, तपाईंहरूको बीचमा तपाईंहरू फैसला गर्नुस् भन्दा म तानाशाही हुने ? मैले त फैसला गरेको छैन, म फैसला गर्छु, मै शासक हुन्छु, जोडजाम गरेर, किनबेच र तिकडम गरेर मै शासनमा रहन्छु भनेको छैन, मेरो काम के भयो जनताले मूल्यांकन गर्नुस्, अरूका काम के भए त्यो पनि मूल्यांकन गर्नुस् भनेको छु,’ ओलीले भने, ‘त्यसकारण दाजुभाइ दिदीबहिनीहरू आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनमा देशको अहितमा काम गर्ने देशद्रोहीहरूलाई ठेगान लगाउने अवसरका रूपमा लिनुपर्छ ।’