प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि संघीय संसद् सचिवालयले संसद् बैठकको तयारी थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यो प्रस्ताव कसरी अघि बढ्छ भन्नेमा पार्टीले निर्णय गर्ने नेकपा दाहाल–नेपाल पक्षका प्रमुख सचेतक देव गुरुङले बताए । ‘जुन बेला प्रस्ताव दर्ता भएको थियो, त्यो बेला र अहिलेको अवस्था अलि फरक छ । प्रस्तावको भाषा जुन अवस्थामा लेखिएको थियो अहिले परिस्थिति बदलिएको छ,’ उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्ने पार्टीले निर्णय गर्नेछ ।’ अब अर्कैर् प्रस्ताव दर्ता हुन सक्ने संकेत उनले गरे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेकै दिन दाहाल र नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरिएको छ । ९० जना सांसदको हस्ताक्षरसहित उक्त प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था शाखामा दर्ता भएको थियो । प्रस्तावको प्रक्रिया अघि बढ्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग भएको घोषणा गरेकी थिइन् ।