तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । गत बर्ष २०७६ चैतमा घोषित महाधिवेशन कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी स्थगित भएको थियो ।अब महाधिवेशन २०७७ चैत २७,२८ र २९ गते मा हुने भएको छ।
घेदुङको सांगठनिक संचरना संघीय ढाँचामा गए पछिको यो पहिलो महाधिवेशन हो । त्यसैले यो महाधिवेशनमा १००० भन्दा बढि प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागी रहने घेदुङले जनाएको छ । यसअघिको महाधिवेशनहरुमा जिल्ला समितिहरुबाट मात्र प्रतिनिधित्व हुन्थ्यो तर यसपटकको महाधिवेशनमा प्रदेश ,जिल्ला ,स्थानीय समितिहरु र विभिन्न देशमा रहेको प्रवास शाखाहरुको समेत प्रतिनिधित्व हुने भएकोले सहभागिता संख्या बढ्ने अध्यक्ष मोहन गोले तामाङले बताए ।
महाधिवेशन सम्पन्न गर्नको लागि घेदुङले आवश्यक मापदण्ड प्रतिनिधिहरु संख्या निर्धारण गर्नुको साथै संस्थागत दायित्व प्रतिनिधि शुल्क र विभिन्न उप समितिहरु निर्माण गरि सबै कामको जिम्मेवारी गत बर्ष नै दिइसकेको थियो ।ल्होछार सकिए लगत्तै पुरै संगठन महाधिवेशनको तयारीमा लागिसकेको महासचिव महित कुमार तामाङले बताए ।
घेदुङले संगठनहरुको अधिवेशन, जिल्ला, स्थानीय तथा भातृ संगठनहरु र प्रदेश कमिटीहरुको संघीय कार्यालयको समन्वयमा अधिवेशन सम्पन्न गरिसकेको छ ।फाल्गुन १५ देखि चैत्र १५ गते सम्म प्रतिनिधि तथा पर्यवेक्षकहरुको नाम दर्ता खुल्ला गरेको छ । प्रतिनिधि तथा पर्यवेक्षक दर्ता गर्दा अनिवार्य आजीवन सदस्यता नम्बर उल्लेख हुनुपर्ने र १५ गते सम्म दर्ता भएको प्रतिनिधि तथा पर्यवेक्षकहरुको अन्तिम नामावली चैत १६ गते सार्वजनिक गरिने महासचिव तामाङले बताए ।
महाधिवेशन सम्बन्धि सबै आर्थिक कारोबार गर्नको लागि घेदुङले अध्यक्ष ,महासचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षर सञ्चालन हुने गरि घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा खाता सञ्चालन गरेको छ।संस्थागत दायित्व, प्रतिनिधि शुल्क र आर्थिक सहयोगबाट संकलित रकम सोही खातामा जम्मा गरि पारदर्शी ढंगले खर्च गरिने कोषाध्यक्ष रुप बहादुर योन्जनले बताए ।
प्रतिनिधि तथा पर्यवेक्षकहरुको नाम दर्ता शुल्क घेदुङको बैंक खाता वा घेदुङ बहुउद्देश्यीय सहकारीको खातामा रकम जम्मा गरेको भौचर र तोकिएको मापदण्ड पुरा गरेको कागजात इमेल ,मेसेन्जर, भाइबरको माध्यमबाट पठाएर गर्न सकिने घेदुङले व्यवस्था गरेको छ । यसअघिको महाधिवेशनमा प्रतिनिधिको नामदर्ता कार्यक्रम स्थलमै गर्दा व्यवस्थापनमा समस्या आउने देखिएकाले १ महिना अगाडि देखि नै नाम दर्ता खुल्ला गरिएको कोषाध्यक्ष योन्जनले बताए ।