महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्तीमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिकास्थित माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्बर-७ घर भएका २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली ग्याङ्ग्ले गाउँपालिका वडा नम्बर-३ घर भएकी १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, नुवाकोट सूर्यगढी गाउँपालिका वडा नमबर-४ घर भएकी ३१ वर्षीया मुना थापा मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नमबर-५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर-१ गागालफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार रहेका छन् ।
चैत १२ गते छोरीलाई लिएर गएकी सुहाना तामाङले श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौं माकलबारीमा फ्ल्याट भाडामा लिएर राखी त्यहाँबाट होटलमा पुर्याएपछि ग्राहकले जवरजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले जाहेरी दिएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुरुमा दुई जनालाई पक्राउ गरेता पनि अनुसन्धानका क्रममा थप ब्यक्तिको संलग्नता खुलेपछि अन्यलाई पनि पक्राउ गरेको थियो ।
अनुसन्धानकै क्रममा प्रहरीले पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकालाई जबरजस्ती करणी भएको खुलेपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर र जबरजस्ती करणी गर्ने ग्राहक राजकुमार सुनारलाई समेत पक्राउ गरेको हो । सुहानाले युवतीहरुलाई काम लगाई दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पुर्याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने गरेको प्रहरीको भनाई छ ।
उनीहरुले त्यस्तो धन्दा गर्न नचाहने अनिच्छुक युवतीलाई समेत डर त्रा देखाएर उक्त फ्ल्याटमा राखेर धन्दा गराउने गरेका थिए । सोही क्रममा पीडित मध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भई अभिभावकको सम्पर्कमा आएपछि यो काण्ड बाहिर आएको हो । पक्राउ परेका अभियुक्तहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।