फोहोर फाल्ने ठाउँको विवादले गर्दा एक हप्ता देखि नउठाइएको फोहोर शुक्रबारदेखि उठाइने भएको छ ।
सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गतेदेखि विभिन्न माग राख्दैसडकमा विरोध प्रदर्शन गरी फोहोर फाल्ने क्रममा अवरोध गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने क्षेत्रका आन्दोलनरत स्थानीय वासिन्दाको माग पूरा गर्ने र उनीहरुले फोहोर फाल्न दिने सहमति भएको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
सहमतिको मस्यौदा शुक्रबार नै तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको श्रेष्ठले बताए । सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन–तीन करोड पाउने भएका छन् ।
संघीय सरकारबाट प्रभावित क्षेत्रका विद्यालयहरुमा स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न काठमाडौं महानगरपालिकाले बजेट अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ ।