कैलाली निर्वाचन क्षेत्र नं. ३ र ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु ५ वर्ष नपुग्दै पद मुक्त भएपछि सो क्षेत्रमा हाल चुनावी चहलपहल हुन थालेको छ।
कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट लेखराज भटट् र कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट गौरीशंकर चौधरी माओवादी केन्द्रका उम्मेदबार भई निर्वाचित भएका थिए। उनीहरु हाल प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको संघीय सरकारका मन्त्री समेत रहेका छन्।
अब हुने उपनिर्वाचनमा माओवादी केन्द्रको लागि परीक्षाको घडी जस्तै बनेको छ। यसअघि आफ्नै उम्मेदवारले विजयी हासिल गरेको निर्वाचन क्षेत्र पुनः जोगाउँन माओवादी केन्द्र लागेको छ। माओवादी केन्द्रका कैलाली जिल्ला अध्यक्ष लालबहादुर सोडारीले केपी ओली सरकार निर्वाचन गराउने मनस्थितिमा नरहेको आशंका व्यक्त गर्दै अब हुने निर्वाचनमा पनि आफुहरु ढंग रहेको दाबी गरे। नेकपा एमालेमा प्रवेश गरेका व्यक्तिहरु मात्रै पार्टी त्याग गरेको बताउँदै सोडारीले आफुहरुको संगठनमा कुनै बेमेल नभएको बताए।
उपनिर्वाचनमा जनता समाजवादी पार्टी समेत होमिने देखिएको छ। जसपा पनि उपनिर्वाचनको तयारीमा जुटेको हो। जसपा कैलाली अध्यक्ष गयाप्रसाद कुश्मीले सरकारले निर्वाचन गराए आफुहरु सभाभागी हुने बताए।
नेकपा एमाले पनि निर्वाचनमा जाने तयारी थालेको बताइएको छ। आन्तरिक कलहको भुमरीमा फसेपनि एमालेभित्रको ओली समूह र माधव समूह पनि उपनिर्वाचनको तयारीमा लाग्ने बताएका छन्। नेकपा एमाले जिल्ला अध्यक्ष रतन थापाले पार्टीभित्र छलफल जारी रहेकोले आन्तरिक समस्या समाधान गरेर निर्वाचनमा जाने दाबी गरे।
तर राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवारको टुंगो लगाइसकेका छैनन्। तर त्यसका लागि दौडधुप सुरु भएपछि छलफल तीव्र बनाइरहेको बुझिएको छ।
उपनिर्वाचन हुने निश्चित भएपछि प्रदेश निर्वाचन कार्यालय धनगढीले पनि आवश्यक तयारीमा जुटेको छ। तर सरकारले अझैसम्म निर्वाचनको मिति तय नभएपछि अन्योलता कायमै रहेको बताइएको छ। प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले भने, “मतदाता अद्यावधिक गर्ने काम गरिसकेका छौ। हाम्रो नियमित काम जारी नै छ। मिति घोषणापछि तालिका बनाएर कार्य थाल्छौ।”
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मंसिरमा भएको थियो। तर ५ वर्ष नपुग्दै उपनिर्वाचन हुन थालेको हो। प्रतिनिधि सभा सांसदको पदावधि सकिन ६ महिना बाँकी रहेको अवस्थमा पद पूर्तिको लागि उपनिर्वाचन हुने कानुनी व्यवस्था रहेको छ।