नेकपा एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयनका लागि हस्ताक्षर गरेका २६ मध्ये ११ जनालाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
बाँकी १५ जनालाई भने स्पष्टीकरण सोधिएको छैन ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
“कतिले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ,” ज्ञवालीले भने, “माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो समर्थन गर्छौँ भनेर हस्ताक्षर गरेका हौँ । शेरबहादुर देउवालाई समर्थन छैन भनेर कतिले भन्नुभएको छ त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हौँ ।”
एमालेले उनीहरुलाई पर्सी बिहानसम्म स्पष्टीकरण दिन भनेको छ ।
माधवकुमार नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका प्रभावशाली नेताहरुलाई भने स्पष्टीकरण सोधिएको छैन ।
उनीहरुले यसअघि शुक्रबार बसेको कार्यदल बैठकमै आफूहरुको हस्ताक्षर दुरुपयोग भएको जनाएको एमाले स्रोतले जानकारी दिएको छ ।