` `परदेश´´
परदेश भनेको पर’को देश मात्रै होईन रहेछ
परदेश भनेको त –
बिल्कुल एक्लो, एक्लोपन
र नितान्त एक्लो रहेछ
अर्थात् सिर्फ! आफू मात्रै रहेछ।
छँन त तिमी छौ प्रिय
यो मुटुमा धड्कन बनेर चलिरहेछौ
मैले आफैले नाडीमा बाँधेको
सिको फायभ घडीको सुईरा जस्तै निरन्तर
र तिम्रो मृदु भाषाका आवाजहरु
मैले सुन्ने मेरो कानको प्रत्येक क्षमतामा
मेरै वरिपरि गुन्जिरहेछ।
बोल्दा बयली खेल्दै आउँने
तिम्रो ओठको मुस्कान
स्वतस्फूर्त निस्किरहने
तिम्रा परेलाका प्रेमिल इशाराहरु
ती दृश्यहरु, ती तस्वीरहरु
मेरो आँखैमा छन्
जो मेरो आँखाको सबै भन्दा
ठूलो दृश्य र बिशाल तस्वीर हो
तर पनि
म नितान्त एक्लो छु प्रिय!
किन कि-
परदेशले आभास होईन यथार्थ खोज्दो रहेछ।
बस! हामी त अहिले आभासमा छौं
एक अर्काको सहानुभूतिमा छौं
छुटिन नचाहेर पनि
छुटिनु नै पर्ने विवशतामा छौं
र यो सत्ये हो
त्यहाँ तिमी म यहाँ
दुई मुटुमा –
एउटै प्रेमको धड्कन धड्किरहेछौं
तर परदेशले मसँग
खोजिरहेछ यथार्थता
हामी दुईको एउटै अँगालो ।
म हरेक दिन भीडहरुमा हुन्छु
तर पनि एक्लो एक्लो छु
यो परदेश हो
परदेश भन्नु नै आफू मात्रै रहेछ
आफू मात्रै हुनु भनेकै परदेश रहेछ
थाहा भो तिमी नहुनु नै परदेश रहेछ।
~ राम योन्जन`गाउँले´
२०७६ असार २७, शुक्रबार ।