” काठमाडौलाई प्रश्न ”
यसपालि पनि
वर्षा ऋतुको पूर्वसन्ध्यामा
प्रकृति किन किन
अनायास क्रुद्ध-क्रुद्ध भएर
मेलम्ची उर्लिएर आयो
मेलम्ची कुर्लिएर आयो
आसपासका बस्तीहरु बगायो
बस्ती मात्र बगाएन
बगायो प्राकृतिक सम्पदाहरु
बगायो पशुपंक्षी र चौपायाहरु
बगायो घरसहित मानिसहरू
बगायो टारी खेतहरु/बारीहरु
बगायो जङ्गल झाडीहरु
बगायो पूल पुलेसाहरु
बाढीले यति ठूलो बितण्डा मच्चाउँदा
मानिसहरू घरबार विहीन हुँदा
यही मेलम्ची जस्तै
आँसुका भेलहरु बहिरहँदा
भन ! काठमाडौ
तैंले सुनिस कि सुनिनस ?
हाम्रो आर्तनाद
हाम्रो चिच्याहट
तेरो अग्लो धरहराको टुप्पोबाट
देखिस कि देखिनस ?
खण्डहर-खण्डहर उजाड मेलम्चीलाई
तँ भोकले छट्पटीदा
यही फाँटको धान चामल दिएँ
यही फाँटको साग सब्जीहरु दिएँ
तँलाई रोग लाग्दा
यही हेलम्बु र लाङटाङको
अमूल्य जडिबुटीहरु दिएँ
तँ काकाकुल झैं तिर्खाउँदा
तेरो प्राण धान्न
सन्जिवनी झैं यहीँको
चिसो-चिसो पानी दिएँ
भन काठमाडौ !
यो बिपत्तिमा
” तैंले मलाई के दिन्छ्स ? ”
✍️ रचना मोक्तान ” यात्री ”
०६ आषाढ, २०७८