काठमाण्डौ उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आजको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सिट क्षमताभन्दा धेरैको सङ्ख्यामा यात्रु नराख्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी ठूला गाडी चलाउन दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । सार्वजनिक गाडी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
अघिल्लो हप्ता जोर–बिजोरका आधारमा निजी कार, जीप, भ्यानमा बढीमा चार जना र ट्याक्सीमा तीन जना राखेर सञ्चालन गर्न दिने निर्णय भएको थियो । दुई पाङ्ग्रे मोटरसाइकलरस्कुटर पनि जोर–बिजोरमा चल्दै आएका छन् ।
त्यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरीरपुस्तक पसल बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
यस्तै डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शो–रुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्रीको पसल लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न सकिनेछ । यसअघि यी पसलहरूलाई बार तोकिएको थियो ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेस्टुरेन्ट एवम् फास्टफुड तथा अन्य अर्डर टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाण्डौ उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुने गरी आफ्नो घर वा बसेको ठाउँमा गर्न सकिने र दुई वटा मात्रै गाडी प्रयोग गर्न सकिनेछ । सभा, सम्मेलन, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलून, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रङ्गशालामा हुने दर्शकसहितको खेलकुदलगायत भिडभाड हुने क्षेत्र खुल्ला गरिएको छैन ।
थपिएको निषेधाज्ञा आउँदो २१ गतेसम्म लागू हुनेछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । काठमाण्डौ उपत्यकामा गएको बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।