नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकासमन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यसअघि दुईपटक सांसद भइसकेकी हुन् । उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।
तत्कालिन नेकपा माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी हुन् ।
उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । हाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् ।तत्कालिन नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेलगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन् । मोक्तान मकवानपुरकी जुझारु महिला नेतृ हुन् ।
हेटौंडा १३ पदमपोखरी स्थित ठुल्थलीमा जन्मिएकी उनी बुवा सानुकान्छा र आमा तीर्थमायाको जेठो सन्तान हुन् । ४२ वर्षीया मोक्तानको तीन दिदी बहिनी र दुई भाइ छन् । मोक्तान दश वर्षको हुँदा उनको बुवाको निधन भएको थियो ।
मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।