काठमाडौं, चैत १६ । गोकर्णेश्वर नगरपालिका-१ श्वेतबराही मन्दिरनजिकैको तामाङ गाउँका ३१ वर्षीय रोहन घिसिङ बुधबार बिहान ८ बजे दुई छोरी लिएर बस स्टपसम्म जाँदै थिए।
बा ५१ प ८७३३ नम्बरको उनको मोटरसाइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए। सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्।घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो। घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो। टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा रहेका दुई बालिकाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी दुण्डिराज न्यौपानेले बताए। उनका अनुसार टिपरले ठक्कर दिएपछि उक्त क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। ठक्कर दिने टिपर र नजिकै रहेको बालुवा खानीमा पार्किङ गरिएका टिपरमा आगजनी गरिएको छ । घटनापछि टिपर चालक भागेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ।